वर्षौ अगाडी आँखाको चेपबाट उडेर गएका थिए , बन्दीपुर बाजेका एक जोर जुनकिरी सपनाहरु । बिजुलीको वरपर घुम्दा घुम्दै आफ्नै प्रकाश थाहा नपाएपछि उज्यालोको खोजीमा निस्किएका ति जुनकिरिहरु आजसम्म फर्किएका छैनन् । बाजे आज पनि तिनै उडीगएका सपनाहरुको लागि आफैसंग लडिरहेका छन् । बेला बेलामा मृत्यु बाजेको कानमा आएर सुमधुर सरगम सुनाउछ तर त्यति नै बेला बाजेका मस्तिस्कहरुमा आशाको हर्न बज्ने गर्छ र मृत्युको सरगमलाई फिक्का बनाईदिन्छ । आजकाल बाजेलाई दुखले बजाएको शंखसंग दिक्क लाग्दैन । बाजेले शंखको सरगम पनि बुझ्न सक्ने भैसकेका छन । जब जब शंख बज्ने गर्छ उनि त्यसको तालमा आदिम युगकी अप्सरा झैँ नाच्ने गर्छन । बाजेलाई आफ्ना जुनकिरी सपनाहरुको खुब माया लाग्ने गर्छ । सपना बनेर उडेका जुनकिरीहरुलाई थाहा छैन आफ्नै बारेमा किन कि उनीहरु कहिल्यै पछाडी फर्केनन् तर बाजे सधै उनीहरुलाई अगाडी पछाडी दुवै तिरबाट हेरिरहन्थे । त्यसैले बाजेले उनीहरुको उज्यालो चिनेका छन् । समयले जुन्किरिहरुको कानमा एउटा भोकको साइरन झुन्ड्याईदिएको छ र टाउकोबाट अलिक पर एउटा प्यासको लाल्टिन देखाईरहन्छ । उनीहरु साइरनको तालमा लाल्टिन भेट्न सधै सधै दौ...