Skip to main content

हामीलाई खोइ त गणतन्त्र ?

            जेठ १५ गते हाम्रोमा गणतन्त्र दिवस । सरकारले घर घरमा दिप प्रज्वलन गरेर दिवस मनाउन आग्रह गरेको थियो । गणतन्त्रकै हावाले निभाएको मन बोकेर बसेकाहरुले त के घरमा दिप बाले होलान र ? त्यहि माथि पटक पटक हजुरहरुले पानी खन्याउनु भएकै छ । के यस्तो बेलामा मन को दियो जलाउन चाहेर पनि जल्ला र सरकार ? जब जब देशमा गणतन्त्र दिवस आउछ मलाई मेरो घर नजिकैका राम दाइ र लाटा दाइ को सम्झना आउछ । 

हाम्रोमा युद्दको बेला युद्दमा भाग नै नलिएर पनि कारुणिक तरिकाले मारिएका धेरै छन् । युद्दकै क्रममा मारिएकाहरुलाई त दुई पक्षले (माओबादी र तत्कालिन सरकार) आफ्ना आफ्ना पक्षको पहिचान गर्लान र केहि हद सम्म सम्मान देलान या शहिद घोषणा गर्लान । राहत पनि देलान् । 
तर उनीहरु जो निर्दोष जनता मारिएका छन् उनीहरुलाई चाँहि कसले कसरी न्याय दिने ? उनीहरु देशका लागि मारिएका हुन् कि होइनन ? उनीहरुलाई शहिद घोषणा गर्ने कि नगर्ने ? यस्ता प्रश्न हरुको चित्तबुझ्दो जवाफ आज सम्म आउन सकेको छैन । 
 राम दाइ र लाटा दाइ तिनै दुइ निर्दोष पात्र हुन् जो कुनै कसुर बिना नै निर्मम तरिकाले मारिएका थिए ।                 
              
राम दाइ जसको बास्तविक नाम थियो राम प्रसाद सिग्देल ।  सबैले डिठ्ठा साहेब भन्ने गर्थे । उनका बाबु डिठ्ठा काम गर्थे रे पहिला  त्यसकारण उनलाई पनि डिठ्ठा भन्ने गरिन्थ्यो । उनि गाँउका एक प्रतिष्ठित समाजसेवी थिय । बनारस गएर धेरै पढेका पनि थिए अरे । लगभग ६० साल तिर को घटना हो गाँउमा माओबादी भर्ती र्केन्द्र खोलिएको थियो । गाँउका धेरै युवाहरुलाई कति जवर्जस्ती त कति सम्झाई बुझाइ गरेर भर्ती गरिदै थियो । राम दाइ चाँहि जति नै आग्रह र गाली गर्दा पनि जान मान्नु भएन । मलाइ अलि अलि सम्झना छ दाइ भन्नु हुन्थ्यो ,“युद्दको बाटोले हामि कहिल्यै गन्तव्यमा पुगीदैन । युद्द त केवल हामी जनता लाइ प्रयोग गर्ने एउटा माध्याम मात्र हो । मलाइ युद्दमा विस्वास लाग्दैन ।“ धेरै कर गर्दा पनि नमाने पछी माओबादीका अंकलहरुले उहाँलाई जबर्जस्ति लैजानु भयो । त्यसको केहि दिन पछाडी गाँउमा हल्ला सुनियो । रामेलाई त राम्चेको बनमा लगेर मरेछन । कसैले भने “काटेर नुन खुर्सानी लगाए अरे” कोहिले भने, “रुखमा झुन्ड्याएर गोलि हाने अरे” तर आज सम्म लास चाँहि भेटिएको छैन ।
      
अर्का थिए लाटा दाइ । उनि बोल्न जान्दैनथे त्यसकारण गाँउका सबै उनलाई लाटा लाटा भन्थे । उसको र उसकै परिवारको अगाडी चाँहि माइला दाइ भन्नु पथ्र्यो नत्र गाली खाइन्थ्यो । उनको वास्तविक नाम के थियो आजसम्म मलाई पनि थाहा छैन । हामी सानोमा संगै धेरै चोटी गोठाला गएका थियौं । घटना त्यहि ६० साल तिरकै हो त्यो दिन पनि हामी संगै गोठाला गएका थियौं । मलाई अलि अलि याद छ त्यो दिन सेना आएको थियो । हामीले गाई चराउन गएको ठाँउको बाटो हुदै गाँउमा पसेको थियो  । 

उतिबेला हाम्रो ठाँउलाइ स्याङ्गजा को रोल्पा भनेर चिनिन्थ्यो । माओबादीको आधार इलाका । बाहिर कस्तो म्यासेज गएको थियो भने, चिसापानीका त गोरु भैसी पनि माओबादी हुन्छन । त्यसकारण बेला बखतमा सेना आउदा ठुलै जत्था लिएर आउथे । त्यो दिन पनि ५०० जति सेना आएका हुन् रे । मलाइ त राम्ररी गन्न आउदैनथ्यो बुबाले भन्नुभएको । गोठालो गएको ठाँउमा लाटा दाइ लगायत हामी ५ जना जति थियौं । एकजना राजेश दाइ हो जस्तो लाग्छ अरु मलाइ पनि याद भएन । हामी अलि साना भएका ले गर्दा हामीलाई घर जाओ भनेर सेनाको एकजना ले पठाइदिय । मेरो सेना भनेपछि सातो जान्थ्यो । त्यसकारण पनि म सास नफेरी घर पुगें । बेलुका तिर गाँउमा खबर पुग्यो लाटोलाइ सेनाले मार्यो अरे । 

भोलि पल्ट हाम्रो घरमा मकै गोड्न आउने बेला त्यहीं नजिकै को एकजना दिदीले बेली बिस्तार लगाइन्, पहिला झोला बोकायो अनि दौडिन लगाएर गोलि हान्यो । ढल्ने बेला त्यो कहिल्यै नबोल्ने मान्छे पनि ठुलो स्वरले चिच्यायो अरे । दिदि भन्दै थिइन् एउटाले फोटो पनि खिच्दै थियो । पर्सी पल्ट तिर बुवा भन्दै हुनुहुन्थ्यो “चिसापानीमा सुरक्षा घेरा तोड्ने क्रममा एकजना आतंककारीको मृत्यु भनेर समाचार आयो ।”
      
लाटा दाई र राम दाई त केहि प्रतिनिधि पात्र मात्र हुन् । यस्ता युद्दको बेला मारिएका निर्दोष नितान्त सर्वसाधारण धेरै छन् । आजकाल गाँउमा कहिले काहि सहिदको सम्मान तथा राहात वितरण कार्यक्रम हुने गर्छन । अक्सर यस्ता कार्यक्रम माओबादी पार्टी बिशेषले गर्ने गर्छन । अलि अगाडी पनि सहिद परिवार सम्मान कार्यक्रम भयो । गाँउबाट युद्दको क्रममा ज्यान गुमाएकाहरुको परिवारलाई सम्मान भयो । त्यहि कार्यक्रमको अन्तिम सम्म आँखाभरी आँशु बनाएर बसेकी उर्मीला भाउजुलाइ (राम दाइकी श्रीमती) देख्दा मेरो समेत आँखा रसाएको थियो ।    
     बिद्रोही समूह बाट मारिएका राज्य तर्फका परिवारहरुलाई सरकारले सम्भब भएसम्म पेन्शन नत्र एकमुस्ट अलिक देखिने नै मात्रामा राहात दिने गरेको छ । राज्य तर्फ बाट मारिएका माओबादीहरुका परिवारलाई पनि धेर थोर पार्टीले सहयोग गरेकै छ । तर ति निर्दोष व्यक्तिका परिवार जो अनाहाकमा ज्यान गुमाउन पुगेका थिए, उनीहरु आज पनि आफन्तको शोकमा झरेको नुनिलो आँसु पिएर जिन्दगीको भोक र प्यास मेटाउन बाध्य छन् ।
     
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर छानबिन त गर्ने भनेको छ तर के अब पाइएला त राम दाइ को हत्यारा ? अनि के आजसम्म पनि ज्युदै होला त लाटा दाई लाइ गोलि हान्ने सेना ? अनि यिनीहरुलाई कारबाही गरेर मात्र पिडित परिवारको समस्या समाधान होला त ? यसरि त झन् बसी सकेको घाउलाइ कोट्याउने काम भन्दा बढी केहि हुदैन । बरु निशुल्क पढाइदियोस् न सरकारले राम दाइका छोरा छोरीलाई । कम्तिमा जिबन गुजारा गर्न पुग्ने जागिर दियोस् न लाटा दाईको परिवारलाई । कम्तिमा यति सम्म गर्न सक्यो भने केहि राहतको अनुभूति हुन्थ्यो होला ।      

 आज दुनियाँ हर्ष बढाँई गरेर गणतन्त्र दिवस मनाउने भन्छन् । हाम्रो मान्छे देशका लागि मरेर गणतन्त्र आएको भनेर युद्दमा मारिएकाहरुका परिवार कम्तिमा गणतन्त्र दिवसको दिन खुशी हुन सक्छन । उनीहरु निर्दोष छन् त्यसकारण खुशी हुने कुनै आधार छैन । न देशका लागि आफ्नो मान्छेले बलिदान दियो भनेर गर्व गर्न सक्छन न त आत्मा हत्या वा दुर्घटना बाट मृत्यु भएको भनेर चित्त बुझाउन नै सक्छन । आज एकपटक तिनै परिवारको सदस्य भएर भन्न मन लग्यो हामीलाई खोइ त गणतन्त्र ?    

 २०७१ जेठ १७ गते पोखरा हटलाइनमा प्रकाशित

Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

फूटपाथको सामान जस्तो नेपाली गजल

        छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु ।            केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो    “उजाले आप्नी ...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...