Skip to main content

मृत्युको अह्वान (कविता)

प्रिय शासक !
म असरफ फयाद
तिम्रो हारेको युगमा जितेको सिपाही
जो तिम्रो हातबाट मृत्यु चाहन्छ ।

तिमी र मबीच अलिकति फरक छ ।

मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु
तिमीले रगतको रंगजस्तै देख्छौ
म आफ्नाको जीवनलाई धर्म भन्छु
तिमी अर्काको मृत्युलाई धर्म मान्छौ
म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ
तिमी अमृत पिएर पनि हाँस्न सकेनौ ।

अरु त सबै उस्तै हो
म पनि अँध्यारो मन नपराउने मान्छे ।

कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ –
प्रेमको भाषा सजिलो हुन्छ
अँध्यारोको रंग कालो हुन्छ
उज्यालो सबैभन्दा ठूलो धर्म हो

र सानो स्वरमा भनें –
मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ
यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन ।

धन्य !
तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ ।

मेरो प्रिय शासक !
म तिम्रै हातबाट मृत्यु चाहन्छु ।

मेरो निन्याउरो अनुहार देखेर
तिमीलाई रिस नउठ्ला भन्ने पिरले
मैले रुन बिर्सिदिएको धेरै भयो
बरु मलाई यत्ति पिर छ कि,
म हाँसिदिए भने
कतै तिमीले निशाना त चुकाउँदैनौ ?

तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी ।

झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ
अनि एक–एक गरी खुल्नेछन्
आजसम्म थिचिएका गालाहरु
तरबारले हान्छौ भने
भन ! कहाँनेर हान्छौ ?
यो सब तिम्रै अल्लाले बनाएको शरीर हो ।
पानीमा डुबायौ भने
मेरै रगतको रंगजस्तो बनिदिन्छ नदी
गोली त कसरी चलाउँछौ ?
म मृत्युको काखमा पनि हाँसिराखेको हुनेछु
कसैलाई हान्न लगाउला
आखिर तिमी आफैंले मार्न नसक्ने मान्छेलाई
किन मृत्युदण्ड सुनाउँछौ ?

नडराऊ !
मेरो प्रिय शासक !
यो मृत्यु म आफैंले चाहेको हुँ ।

ए साँच्ची !
एउटा कुरा भन्नै छुटेछ

म  तिम्रो देशभित्र
एक टुक्रा रोटीका निम्ति
लाइनको अन्तिममा बसेको एक शरणार्थी
धन्य ! तिमीले मलाई मार्ने वचन दियौ
नर्क छाडेर म
मेरो देश जान पाउने भएँ ।

तिम्रो भाषामा
म तिम्रै अल्लाले बनाएको एक मान्छे
म मरेर आजको इतिहास जिउँदो बनाउँछु
तिमी बाँचेर भोलिको वर्तमान मारिराख्नू ।

ए मेरो युगको हारेको शासक !
आऊ
मलाई मारिदेऊ
म आफ्नै देश फर्कन चाहन्छु ।
०००
२०७२ माघ २ गते कान्तिपुर कोसेलीमा प्रकाशित
(कविता लेखेका कारण मृत्युदण्डको सजाय सुनाइएका प्यालेस्टिनी कवि असरफ फयादमा समर्पित ।)

Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

राष्ट्रियता भन्नु पनि त पैसै रहेछ साहेब !

बेला बेला दिमागमा कन्सुत्लो पस्छ । अनेक चिज सोचिदिन्छ । कति त भन्नै डर लाग्ने हुन्छन् । यसपाली पनि एउटा खतरनाक चिज सोचिदियो, यो देश नभए के हुन्छ ? झट्ट मुटु फुलेर जवाफ दियो । देश भनेको तेरो पहिचान हो । देश नचाहिने मान्छे त जंगलमा जानु । हत्तपत्त सम्झें मलाई यहि देश चाहि किन चाहिन्छ ? यदि म अर्को देशमा गएँ भने मेरो राष्ट्रियता म संगै जान्छ कि यतै छुट्छ ? के हो राष्ट्रियता ? के के कुराले बनाउछ राष्ट्रियताको दायरा ? यो देशको जीवजन्तुको हुन्छ कि हुदैन राष्ट्रियता ? कस्तो हुन्छ यसको मुख ? भयो अब प्रश्न मात्र नगरौं अब यसकै वरिपरी घुमेर केहि बातचित गरौँ ।   मैले अघिल्लो साल आफ्नै ब्यबसायिक कामको लागि सिमाना नजिक लगभग २ महिना बस्ने अवसर प्राप्त गरेको थिएँ । त्यहाँका धेरै मानिस यस्ता छन् जसले म बसेको भुमि नेपाल हो भनेकै कारण हरेक दिन पिडा खेपेका छन । कहिले भारतीय भुशतिघ्रे एस.एस.पी को ज्यादति त कहिले चोर गुण्डाको ज्यादति । आज आफ्नो देशमा आफ्नो भएको जग्गा भोलि उठ्दा सिमाना सरेर अर्कै देशमा अर्काको हुने डर । अझ अर्कैले हडप्दा पनि केहि गर्न नसक्नु, डर भन्दा ठुलो पिडा हुदो रहेछ । यो देशको...