Skip to main content

बन्दीपुर बाजेका जुनकिरी सपनाहरु

वर्षौ अगाडी आँखाको चेपबाट उडेर गएका थिए, बन्दीपुर बाजेका एक जोर जुनकिरी सपनाहरु । बिजुलीको वरपर घुम्दा घुम्दै आफ्नै प्रकाश थाहा नपाएपछि उज्यालोको खोजीमा निस्किएका ति जुनकिरिहरु आजसम्म फर्किएका छैनन् । बाजे आज पनि तिनै उडीगएका सपनाहरुको लागि आफैसंग लडिरहेका छन् । बेला बेलामा मृत्यु बाजेको कानमा आएर सुमधुर सरगम सुनाउछ तर त्यति नै बेला बाजेका मस्तिस्कहरुमा आशाको हर्न बज्ने गर्छ र मृत्युको सरगमलाई फिक्का बनाईदिन्छ । आजकाल बाजेलाई दुखले बजाएको शंखसंग दिक्क लाग्दैन । बाजेले शंखको सरगम पनि बुझ्न सक्ने भैसकेका छन । जब जब शंख बज्ने गर्छ उनि त्यसको तालमा आदिम युगकी अप्सरा झैँ नाच्ने गर्छन ।

बाजेलाई आफ्ना जुनकिरी सपनाहरुको खुब माया लाग्ने गर्छ । सपना बनेर उडेका जुनकिरीहरुलाई थाहा छैन आफ्नै बारेमा किन कि उनीहरु कहिल्यै पछाडी फर्केनन् तर बाजे सधै उनीहरुलाई अगाडी पछाडी दुवै तिरबाट हेरिरहन्थे । त्यसैले बाजेले उनीहरुको उज्यालो चिनेका छन् । 

समयले जुन्किरिहरुको कानमा एउटा भोकको साइरन झुन्ड्याईदिएको छ र टाउकोबाट अलिक पर एउटा प्यासको लाल्टिन देखाईरहन्छ । उनीहरु साइरनको तालमा लाल्टिन भेट्न सधै सधै दौडीरहन्छन ।

उनीहरुलाई बाजेको कुनै कुरा सुन्ने फुर्सद थिएन/छैन । एक दिन समयले प्यासको लाल्टिन निभाइदिनेछ । तब उनीहरुले आफुलाई र आफ्नो उज्यालोलाइ चिन्ने छन् । त्यहि दिन पछुतोको डोरीमा पासो लगाएर उनीहरुले आत्महत्या गर्नेछन ।

बाजेलाई यो सब कुरा थाहा छ । आज पनि उनि बन्दीपुर डाँडाको सबैभन्दा अग्लो ठाउमा पुगेर आकाश छुदै एउटै प्राथाना गर्छन । "लाल्टिन निभ्नु अघिनै मेरा जुनकिरी सपनाहरु एक पटक पछाडी फर्किदिउन ।"

अलि अलि याद छ सानोमा सुनेको कुरा । भगवान माथि आकाशमा बस्नुहुन्छ । त्यसकारण पनि बाजे केहि माग्नु पर्यो भने आकाश छुनलाई बन्दिपुरको सबै भन्दा माथिको डाँडोमा जान्छन । उमेरले उनको निधार बाट भाग्यको निशानी मेटाईसकेको छ । हातमा पनि चाउरी परेर जम्मै रेखाहरु अस्पस्ट भैसकेका छन तर आजसम्म उमेरले उनको दिमागको कुनै पनि छाप मेटाउन सकेको छैन ।

पानी भर्न पधेरोमा जाँदा बज्यैसंग पहिलो पटक आँखा जुधेको कुरा पनि याद छ । बन्दीपुर गुफामा बज्यैलाइ भेट्न जाँदा गोरुले कोदो खाएर जरिवाना तिर्न परेको कुरा पनि थाहा छ । बज्यैलाइ भगाएर नेपाल पुर्याएको बेलाको छटपटी, पहिलो पल्ट बाउ बन्दाको खुशी, सन्तानले साथ् छोडदाको आशा र पिडा, बज्यैले छाड्दाको मुटुको घाउ सबै कुरा दिमागमा पत्र पत्र बनि संकलन भएर बसेका छन् । 

कहिलेकाहीं सोच्ने गर्छन, भाग्यको रेखा मेटाउने उमेरले किन मेटाउदैन दिमागका रेखाहरु ? सुखका बेलाहरु सम्झदा पनि अप्ठेरो लाग्छ, दुखको छण समझदा पनि गार्हो हुन्छ । बाजेलाई घरि घरि त आफैले आफैलाई पागल घोषणा गर्दिउ कि जस्तो पनि लाग्छ तर बाजेको मस्तिस्कमा छ नि जुन आशाको हर्न उसले सब कुरालाइ फिक्का बनाइदिन्छ र दिन्छ अर्को दिनको बिहान देख्न सक्ने शक्ति ।
    
बाजे चाहन्छन उनका आँखा बाट उडेका जुन्किरिहरु कुनै दिन घुम्दै फिर्दै जुन्किरिहरुकै देशमा पुगुन र चिनुन आफैलाई । थाहा पाउन आफ्नो महत्व, छाडून प्यासको लाल्टिन पछ्याउन ।

बाजेलाइ थाहा छ जुन्किरिहरु साना हुन्छन तर प्रकाश आफ्नै लिएर हिड्छन् । बाजेलाई जून भन्दा जूनकिरी मनपर्छ किनकि जूनकिरी आफ्नै प्रकाशले चम्किन्छ जून अरु कसैले चम्काइदिन्छ । बाजेका सपनाहरुले कहिल्यै यो कुरा बुझेनन् उनीहरु आफैसंग भएको कुरा भेट्नलाई बर्षौ देखि दौडिरहे ।

तलबाट मर्स्याङदी नदि उनलाई खुब बोलाइ रहन्छ । उनले धेरै पटक नदिसंग खबर पनि पठाएका थिए तर खबर बोकेर गएको नदि कहिल्यै फर्केन । गएको पानी नफर्के पनि नदि सधै नयाँ बनेर बगिनै रहयो तर बाजेका सपना कहिल्यै नयाँ बनेनन् ।      

बन्दीपुर पुग्ने हरेक गाडीले बाजेलाई चलाउने गर्छ । उनि सकेसम्म र भ्यायसम्म प्रत्यक गाडीको ढोकाबाट झर्ने प्रत्यक मान्छेलाई ध्यानपूर्वक हेर्ने गर्छन । सबैका सेता कमिजहरुमा उनकै सपनाका दागहरु टाँसिएर रंगीचंगी भए जस्तो लाग्छ । प्रत्यकका कमिजहरुमा बाजे आफ्नो आँखा छाडीदिन्छन् । यस्तो लाग्छ समय बाजे माथि एउटा अनौठो प्रयोग गरिरहेको छ ।     

बाजेलाई कुन समयमा त्यहाँ कुन घटना भयो सब थाहा छ । त्यसकारण पनि धेरै जना उनलाई बन्दीपुर बाजे भन्ने गर्छन । आज पनि गाउँमा कसैको झगडा मिलाउन पर्यो भने उनलाई नै डाकिदो रहेछ । बुढा गाउँका प्रतिष्ठित भलाद्मी हुन् । धेरैलाई न्याय दिलाय पनि आफैलाई चाही उनले कहिल्यै न्याय गर्न सकेनन ।     

 "तिन भाइ छोराहरु थिय बाबु लग्यो हावाले उडायो । जेठो छोरो युद्दको बेलामै घर छाडेको हो अहिले मलाय छ भन्छन । माइलो भारत तिर छु भन्छ, ५ वर्ष अगाडी एउटा चिठ्ठी आथ्यो । कान्छो छोरो.....दैबले संगै बस्न दिएन नानि, बा दाइहरुले छाडे पनि म धेरै पैसा कमाएर ल्याएर सुख दिन्छु भन्थ्यो कहाँ गयो अत्तो पत्तो छैन..... " बोल्दा बोल्दै रोकिए । आँखाका डिलहरु भत्किए । चस्मा निकाल्दै थपे "माइलो छोरो काटी कुटी तिमि जस्तै थियो बा" । अब त मलाइ पनि अप्ठेरो महसुस भयो ।             

दौराको फेरले चस्माको सिसा पुछ्दै भने "नानि पहिले त यो बन्दीपुरबाट उडेर मर्स्याङदिमा पुगेर पौडिन पनि सकिन्छ भन्ने लाग्थ्यो तर अहिले त मर्स्याङदी यहि आएर बगाउछ कि भन्ने डर हुन्छ ।" समय र उमेरले मान्छे को सोच्ने कुरालाई पनि यसरि हल्लाइदिन्छ कि हामि सबै भ्रममै बाँचेका हौ भन्ने लाग्छ ।
 बाजे सुस्तरी सुस्केरा हाल्दै बोले "हेर बा यो उमेरमा बाँच्ने भनेकै त्यहि एउटा आशाले रहेछ । उमेर भइन्जेल कसैको आशा गरिएन जब आफ्नै जिन्दगीले आफैलाई  छाड्यो अनि त जो देखे पनि आशा मात्रै लाग्छ ।"

हामीले बन्दीपुर छाड्ने बेला बाजेले भने "हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेश आनन्दि मनले”

Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

फूटपाथको सामान जस्तो नेपाली गजल

        छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु ।            केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो    “उजाले आप्नी ...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...