माओबादी मोर्चा र आन्दोलनको औचित्य - SUMAN LAMSAL

Breaking

Subscribe Us

BANNER 728X90

Thursday, December 25, 2014

माओबादी मोर्चा र आन्दोलनको औचित्य

                  

फेसबुकको न्युज फिड अपडेट गर्दै थिएँ । एक्कासी एउटा स्ट्याटस आएर आँखामा ठोक्कियो । स्ट्याटस पूर्व प्रधानमन्त्री तथा एनेकपा माओबादी उपाध्यक्ष डा.बाबुराम भट्टराई को थियो । उहाँले लेख्नुभएको थियो,  

“३०(१९+२०) दलीय मोर्चाद्वारा अग्रगामी संविधानको पक्षमा जनदबाव सिर्जना गर्न आन्दोलनको कार्यक्रम घोषणा,
१. पुस १९ गते ७५ जिल्लामा जनप्रदर्शन र सभा
२. पुस २५ देखि २९ गतेसम्म विभिन्न प्रदेशमा आमहड्ताल
३. माघ ५ गते देशव्यापी आमहड्ताल
यस वीचमा सरकारसंग वार्ता पनि जारी रहने।”

सुरुमा त मलाइ यो १९ र २२ जोडेर कसरि ३० हुन्छ भन्ने प्रश्नले अचम्म पार्याे । केहि समय पछाडी उहाँले नै प्रस्ट पारिदिनु भयो “कसरी भने २२ दलीय मोर्चा र १९ दलीय मोर्चामा ११ दल साझा छन् । ती दुइ मोर्चा गाभेर एउटै मोर्चा बनाउँदा ११ घटाउनुपर्ने हुन्छ ।” उहाँ कै भनाइ अनुसार लेनिनले राजनीतिलाई बिजगणित भनेको करणले गर्दा त्यस्तो जुक्ति उत्पन्न भएको रहेछ ।  

उहाँको यो कुराले मेरो ज्यानमा एकपटक करेन्ट लाग्यो । मुख्य कारण त माघ ५ गते नै म आफ्नो रोजी रोटीको लागि कुनै काममा बाहिर निस्कने तयारीमा थिएँ । दिमाग ले सोच्यो, त्यो भन्दा अगाडी भनिएको प्रदेशको आमहड्तालको लागि म जस्तै कति जना अरु निर्दाेष नेपालीले आफ्नो रोजी रोटि चढाउन पर्ने होला । असन्तुष्टिको मेरो व्यक्तिगत कारण भन्दा पनि समग्र यो आन्दोलनको औचित्य र चुनौतीमा एकछिन घोत्लिन मन लाग्यो । यो देशले के साँचिकै यो आन्दोलनबाट निकास पाउला त ? अनि आन्दोलन कसका बिरुद्द गरिएको हो ? मुख्य कुरा त आन्दोलन के का लागि गरिएको हो ? यस्ता प्रश्नहरुले मेरो मन उकुसमुकुस बनाइराखेका छन् ।

सबै भन्दा पहिला त मलाइ यो मोर्चाको अस्तित्व माथि नै केहि शंका र बिमतिहरु छन् । कमरेडको भनाइ अनुसार नै यसको स्वरूप दुइ जोडेर साझा संख्या घटाएर संख्या ले ३० पुर्याइएको छ । उहाँहरुले हातेमालो गर्न लागेका बाँकी उन्तिस वटा दलहरुले के आफ्ना तर्फबाट कम्तिमा ५० जना जनता सडकमा उतार्न सक्लान ? कुनै निश्चित राजनैतिक सिद्दान्त र सामाजिक प्रतिष्ठा नभएका केवल सत्तामा पुग्न र कालो धन सेतो बनाउन राजनैतिक दल खोलेकाहरुसंगको मोर्चा बन्दीले माओबादीले भन्दै आएको वर्ग संघर्षको लडाँइ सफल होला ? कि उनीहरुलाई अलिकति प्रयोग गरेर छाडौं भन्ने लक्ष्य हो ? तर यदि यो हो भने उहाँहरुले के कुरा भुल्नु हुदैन भने यस्तै मोर्चाबन्दी, प्रयोग र गुट उपगुट को लडाँईले गर्दा हिजो को एक बिशाल र सिंगो माओबादी आज खुम्चिएर चिरा चिरामा छुट्टिएको छ । यो केवल दलको संख्या बढाउनको लागि मात्र गरिएको मोर्चाबन्दी हो । हिजो बैद्यले बनाएको २२ दलीय मोर्चा भन्दा कत्ति पनि फरक छैन जहाँ २२०० जना पनि नभएर लाज मर्दो भएको थियो ।

अब आन्दोलनको प्रसङ्ग बारे चर्चा गरौँ । अझै पनि माओबादीलाई लाग्छ कि अब पनि जनता हिजो जसरी उसको नाममा सडकमा ओर्लन्छन र आँखामा कालो पट्टि बाँधेर उसकै पछाडी जिन्दाबाद र मुर्दाबाद भनेर हिडीदिन्छन । सबै भन्दा पहिला त उ यो भ्रमबाट मुक्त हुन जरुरि छ । हिजोका दिन देखि नै नेपाली जनतालाई पटक पटक राजनैतिक हिसाबले प्रयोग गरियो । केहि अपबाद बाहेक नेपालि जनताहरु होमिएको आन्दोलन केवल केहि व्यक्ति र दलको ब्याक्तिगत स्वार्थ पुरा गर्न भन्दा बढी कहिँ कतै देखिएन । 

हाम्रै छातीको जग हालेर धेरैले सहरमा महल ठड्याए । हाम्रा नाली हाडहरुलाई बिच्याएर बनाएको बाटोमा आज पनि यहाँहरुकै पजेरो घुइकन्छ । हामीले माया गरेर तेल घसेका हजुरका हातहरु आज पटक पटक हाम्रै गला माथि बर्सिएका छन् । यति सब जानिसके पछाडी पनि फेरी यहाँहरुकै पछाडी लागियो भने सायद संसारमा हामि जति मुर्ख मान्छे अरु कोहि हुदैन । 

हामीले ६२\६३ आन्दोलन पछाडिका प्रत्यक जनप्रदर्शन र आमहड्ताललाइ विश्लेषण गर्ने हो भने यो बाटोबाट कसैले पनि राजनैतिक उपलब्धि हात परेको देखिदैन । चाहे हिजो माधब कुमार नेपाललाई फाल्न एमाओबादी ले गरेको आन्दोलन होस् चाहे दोश्रो संबिधानसभाको चुनाब हुन नदिन ड्यास माओबादीले गरेको आमहड्ताल होस । प्रत्यक पटक आन्दोलन गर्ने स्वयम नै नराम्रो संग ठक्कर खाएको देखिन्छ ।

 अझ मुख्य कुरा त यी पछाडिका आन्दोलन जति भए यिनीहरु कुनै राजनैतिक मुद्दा र उद्यश्य भन्दा पनि बढी राजनैतिक स्वार्थका लागि गरीए । के माओबादीले हिजोका यी तुहिएका आन्दोलनहरुको समिक्षा गरेर आजको आन्दोलन गरेको हो ? अब को आन्दोलन सफल हुन सक्ने कारणहरु के के छन् ? कमरेडहरुले बुझ्न जरुरि छ यो कुनै मजाक र बच्चाको खेल होइन । यस्ता बन्द र हड्तालले तपाँइहरुलाई त खास असर नपार्ला तर दिनभरी मजदुरी गरेर खाने हजारौं नेपालीलाई बेलुका भोकै सुत्न बाध्य बनाउछ । यो बिचमा आन्दोलन उनीहरुकै लागि हो भन्ने तर्क पनि उठ्ला तर यो तर्कको आशा दिलाउने शक्ति पनि अब छिया छिया भइसकेको छ । उनीहरुको झन्डै एउटा पुस्ता तपाँइहरुकै आशा र भरोशा सुन्दा सुन्दै गुज्रिसकेको छ । अनि आज सम्म कुन समयको सदुपयोग गरेर तपाँइहरुले उनीहरुको श्रमको सम्मान गर्नुभएको छ ? 

एउटा तल्लो वर्ग अरु दल भन्दा माओबादीसँग बढी आशाबादी हुनुका केहि कारणहरु छन् । पहिलो मुख्य कारण माओबादी आफैमा मजदुरहरुको गास काटेर जन्मिएको पार्टी हो । यसले धेरै जना निम्न बर्गकै व्यक्तिहरुको लासलाई भर्याङ्ग बनाएर सत्तामा पुगेको पनि हो । यसले नै सिकाएको हो कोदालो समाउने हात लाइ बन्दुकको खेल । यसले नै सिकाएको हो आबाज नभएकाहरुलाई बोल्न पनि । हिजो यसरि आएको पार्टी ले आजका दिनसम्म आउदा पनि उनीहरुको सुख र सुबिधाको कुरा सोच्न त परे जाओस् अहिले पनि 
उनीहरुलाई नै दुख र सास्ती कटाउने कुरा गरिरहदा कत्ति नरमाइलो लाग्दो होला । 

माओबादीले अब के कुरा बुझ्न पर्छ भने, उनीहरुले अहिले गर्न लागेको आन्दोलन र हडतालले सबै भन्दा बढी पिडित हुने भनेको मजदुर र असहाय वर्ग नै हो । काम खोसिने उनीहरुकै हो । खान नपाउने पनि उनीहरुले नै हो । उसले निरन्तर भन्दै आएको सामन्त र सम्रान्त बर्गका कुनै पनि व्यक्तिलाई हुने असर ज्यादै न्युन छ कतिलाई त फाइदा पनि हुन्छ । उनीहरुसंग अझै केहि वर्षलाइ पुग्ने मनग्य सम्पति छ । हड्ताल भो भने आनन्दसँग घर बस्छन र रमाइलो गर्छन । महंगी बढी हाल्यो भने पनि उनीहरुलाई एकदमै न्यून असर पर्छ । 

त्यो भन्दा बरु यसले नै मार्छ अझै केहि थान चेपांगहरुलाई । यसले बगाउछ अझै केहि बगरमा भोक जोतिरहेका लाशहरुलाई । यति थाहा पाइसकेपछाडी की अब माओबादी नेतृत्वले भनोस हाम्रो यो आन्दोलन तिनै मजदुर र असह्यका बिरुद्द हो जसले हामीलाई यहाँ पुर्याएर गल्ति गरे । नत्र तुरुन्त यो आन्दोलनको स्वरूप परिवर्तन गरेर हामीले दुख नपाउने आन्दोलन गरोस् ।

मलाइ अहिलेको आन्दोलन देखेर सबै भन्दा ठुलो डर कहाँ छ भने हिजो पनि पहिलो संबिधानसभा बिघटन हुने बेलामा यसरि नै आन्दोलन भएको थियो । यस्तै चर्का नाराहरु उब्जिएका थिए । यहि माओबादीले उठाएको मुद्दाको फेरो समाएर केहि दलहरु पनि खुले । अन्तमा संबिधान बनेन । आज पनि फेरी त्यो अबस्था दोहोरियो भने हामीलाई त्यो भन्दा ठुलो राजनैतिक दलहरुले दिएको पिडा अरु केहि हुन सक्दैन । 

अहिले कम्जोर भएपनि माओबादीले हिजो उठाएका केहि मुद्वाहरु संस्थागत भैसकेका छन् । सबैभन्दा ठुलो त उसले संबिधान सभाको आफ्नो मुद्दा को टुंगो लगायो । त्यस पछाडी संघियता हुदै धर्मनिरपेक्षता को मुद्दा पनि एक हिसाबले संस्थागत भैसकेको छ । अब उसको मुख्य लक्ष्य पहिला यी मुद्दालाइ संबिधानमा राखेर संरक्षण गर्ने हुनुपर्छ । अब पनि उसले हिजोको इतिहास भुलेर जातीयताकै मुद्दाको लागि आन्दोलन र हड्ताल जस्ता नालायक हतियारको प्रयोग गर्न खोज्यो त्यो हतियारले आफै टुक्रिएर छिया छिया हुने निश्चित छ । 

अन्तमा, एउटा सामान्य दैनिक जिवन बुझेको नागरिकको हैसियतमा माओबादीलाई मेरो सुझाब के छ भने, उसले अहिले केहि नमिलेका मुद्दालाइ थाती राखेर भए पनि पहिला आफ्ना भैसकेका मुद्वालाई बलियो पारेर संबिधान जारी गर्नमा आफुलाई समर्पित गरोस् । बाँकि केहि नमिलेका मुद्दाको जनमत संग्रह गरियोस् । त्यो बेलामा बल्ल माओबादीले एउटा अभियान ल्याओस् । आफ्ना मुदा जनतालाई बुझाओस् । यदि अबका मुद्दामा पनि उ सहि नै छ भने जित्ने निश्चित छ । होइन भने आफ्नो देशमा कस्तो शासन चाहने भनेर रोज्ने अधिकार जनतालाई छ । यो कसैले जबर्जस्ति खोसेर खोसिने चिज पनि होइन ।.   
                                  
  

२०७१ पौष १० गतेको नागरिक पश्चिमेलीमा प्रकाशित  

No comments:

Post a Comment