सपनाको उडान : अक्षरयात्रा बलेवा - SUMAN LAMSAL

Breaking

Subscribe Us

BANNER 728X90

Friday, March 28, 2014

सपनाको उडान : अक्षरयात्रा बलेवा


                             

         केहि नहुनु पनि धेरै चिज हुनु रहेछ, नहुनु को पनि छुट्टै मज्जा हुदो रहेछ, केहि चिज त नभएर पनि आनन्द आउदोरहेछ । जस्तो की योजना नहुनुको मज्जा । ब्यबहारिक झन्झट नहुनु को मज्जा । जुन हुने मान्छेहरुले कमै पाउछन । हामी पनि सम्भब भएसम्म  महिनामा एक दिन सबै चिज गुमाइदिने गर्छौ तर त्यो दिन सधै यस्तो लाग्छ गुमाउनु पनि एउटा प्राप्ति हो । हामी अक्षरयात्री बनेर अक्षरको खेतमा केहि रोप्ने घमण्डका साथ धेरै चिज गुमाइदिन्छौ । हाम्रोमा एउटा अभियान छ अक्षरयात्रा जहाँ दौडिन जानी सक्नुभएका कम र भर्खर हिड्न सिक्दै गर्नुभएका अलि बढी जनाहरु यात्रा गर्नुहुन्छ । ब्यबस्थापनको जिम्मा लिएको छ गजलसंध्या पोखरा र नाबोनित साहित्य सागरले । हामी प्रत्यक महिनाको तेस्रो शनिबार सम्भब भएसम्म पोखरा खाल्डो भन्दा बाहिर गएर मन उडाउने गर्छौ । अभियानको निरन्तरताकै क्रममा पुगियो बाग्लुंग जिल्लाको बलेवा भन्ने ठाउमा । बलेवाबाट फर्किएपछि.....
         आज बलेवा संगसंगै अलि बढी बुझिएको छ आफ्नै पनि अलिकति रहरहरु अलिकति बाध्यताहरू र अलिकति भोगाइहरु । म धेरै गम्भीर भएको छु बलेवाको इतिहास र वर्तमानसँग अझ भनौ उसको बाध्यता र रहरसँग। छामर्केको डाडा बाट कुनै जमानामा सुटुक्क बलेवा खस्ने जहाज आजभोली यान्त्रिक पुलका लठ्ठाहरु संगै बिलाएको रहेछ । मैले जहाजलाई सपना भनिदिएं भने ? हो यहिँ निर म धेरे बेर अडिए । यत्तिकैमा टिनका पाताहरुले खियासँग कुस्ती खेलिरहेजस्तो, कविले लेख्दा लेख्दै छोडेको कविता जस्तो पनि देखिने एउटा घरको आगनमा पुगें । घरलाई  धमिराहरुको प्रेमपुर्वक आफ्नो शैलिमा जतन गरिराखेका थिए ।बुढो लाग्ने घर तन्नेरी स्वरमा बोल्यो "कवी हौ?" मैले भने "होइन तर चाहन्छु","मलाई लेख न त" घरले फेरी प्रश्न शैलीमै उत्तर दियो मैले टाउको हल्लाए मात्र । घर केहि बताउन सुरु गर्यो । बतायो । मैले फर्कने बेला भने "कविता त म सक्दिन, पोखरा पुगेपछि हावा सँग एउटा चिठ्ठी पठाउछु"। केहि बेर अगाडिको मेरो अन्योलता पुरा भयो । निस्कर्ष निस्किनै हाल्यो पनि ।
         बलेवाका सपनाहरु ठ्याक्कै त्यही जहाज जस्ता  त रहेछन नि होइन र ? सपना उड्न छाडेको ठ्याकै आज २० बर्ष भएछ । यस बिचमा कति सपनाहरु गण्डकीमा आत्महत्या गरे होलान कति सपनाहरु लामै भएपनि पैदल बाटो हुदै पारि तारे होलान अझ अलिकति त लाहुरेको तुम्लेटको पानि संगै छचल्किएर पोखिए पनि होलान । सपनाले उडान भर्ने मैदान आज घासे मैदान भएको रहेछ । नहोस पनि कसरि जसका लागि सपना देखियो  उनीहरु नै देखिएका छैनन् रे त्यता तिर ।आजपनि त्यहि मरुभूमिको वरपर केहि बोट सल्लाहरु मर्न लागेको  जवानीलाई  पानि हालीकन जोगाएर बसिराखेका रहेछन सपनामा आउनेको नाममा । आजभोली चाहिं अलिकति थान सपनाहरु यान्त्रिक पुलको रसिमा झुन्डिएरै भएपनि ओहोर दोहोर गर्न थालेका रहेछन । घर भन्दै थियो "आखामा सपना देख्ने सहास अलिकति पलाएको छ" ।     
              मलाइ एक हिसाबले बलेवा ठ्याक्कै मेरै मन जस्तो पनि लग्यो हिजो खुला आकाशमा उड्ने बलेवा आज तार मा घिर्सिना सिकेको रहेछ । अझ भनौ सिक्नुपर्दो रहेछ । यो लेखिरहदा मैले आफ्नो बचपन सम्झेको छु । कतै मैले पनि ब्यबहारिक बन्ने होडमा सपनाहरु घिसारेको त छैन ?
               हिजो त्यहाबाट उडेका सपनाका बिमानहरु कहाँ कहाँ सम्म पुगे होलान ? कतिले सम्झेका होलान त्यो मरुभूमि बनेको मैदानलाई ? अझ कहालीलाग्दो प्रश्न त किन फर्केनन् सपना बनेर उडेकाहरु ? घर भन्दै थियो "अलि बर्ष अगाडी चाही एउटा सपना उडेर आएको थियो मलाइ सुम्सुम्याएर गयो तर त्यो भन्दा पछाडी कहिल्यै फर्केर आएन ।" घरले परेली भत्काउदै अझ थप्यो "पहिला त मलाया र भोट पुगेका सपना पनि बर्षौ लगाएर फर्किन्थे तर जहाज उड्न छाडे देखि त्यहिँ पारि डाडाबाट पनि फर्किएनन । जहाँ जसरि भए पनि दुख नपाउन"। घरको यहि कुराले नै मेरो सुरुको प्रश्नले जवाफ भेटेको थियो । सायद आँसु सुकेर होला आजभोली घरका भित्ताहरु चर्किन थालेका रहेछन । सिमसिम पानी पर्न थाल्यो, घरले चर्किएको भित्तामा रसाएको पानी पुछ्दै भन्यो "सायद गल्ति मेरो पनि होला है कवि? मैले जन्म दिए सपनाहरुलाई तर सन्तोष दिन सकिन ।" आजकाल त पैसा भनेको सन्तोष हुन्छ रे नि  तिमीहरुको तिर त होइन ?" मलाई पनि अलिकति भाबुक बनायो मैले टाउको हल्लाउनु सिबाय केहि गर्न सकिन । मैले गल्तिको प्रसङ्ग सम्झाउदै अलिकति बोलें "एउटा सुन्दर फुल बगैचामा फुल्नको लागि माली भन्दा बढी फूल आफै जिम्मेबार हुनुपर्ने हो जस्तो पनि लाग्छ तर यहाँ चलन अर्कै छ माली ले फूलदिनु पर्ने । म पनि यहिँ छु बढी त के बोलुं र ?"                
     खै के को आशमा हो कुन्नि पहिला हावाले जोडेको पहाडलाई ठुला ठुला रासी लगाएर वारी र पारि जोडेको छ बलेवाले । सायद उ रसिमै भएपनि आफ्ना सपना उडाएर चाहना मेटाउन चाहन्छ । पक्कैपनि उ बचेखुचेका सपनाहरुलाई गुमाउन चाहन्न । अझ गुमेका सपनाहरुलाई फिर्ता बोलाउन चाहन्छ । तर घर भन्दै थियो "पानी नै नभएको खोलामा पूल बन्दा पनि खुसि त हुनुपर्दो रहेछ नि है कवि?" घरको यो प्रश्नले मैले सायद भनेको कुरा कता कता गलत बनाइदिए जस्तो पनि लग्यो । घरले केहि थान पुराना तस्बिरहरु निकालेर देखायो । कागज पुरानो भए पनि आकर्षण मरेको थिएन । घर ले भनेको त्यो दिन पछाडी त्यतिका मान्छे त्यहाँ कहिल्यै  जम्मा भएनन् अरे भन्दै थियो तस्बिर २०४० सालको हो । बलेवामा २०४१ साल भन्दा पछाडी नियमित जहाज उडेको छैन,२०६८ साल तिर एक जना मन्त्रीले खोइ के हो कुन्नि उद्घाटन गर्दा चढेर गएका अरे। मलाई अहिलेको भन्दा  पहिलेकै बलेवा राम्रो लाग्यो । आखिर मलाई मात्र होइन रुखहरु भएको हरियो जंगल जो कोहिलाई पनि राम्रो लाग्छ, कता कति क्याक्टस मात्र छाडिएको मरुभूमि त कसलाई पो राम्रो लाग्ला र ?        
      मैले मेरा केहि यी अक्षरहरु सिलबन्दी गरेर घरको ठेगानामा हावासँग पठाएको छु । सायद देखेपछी घरले केहि उत्तर पठाउला प्रतिक्षामा बसेको छु ।  

२०७० चैत १५ गतेको पोखरा हटलाइनमा प्रकाशित     

No comments:

Post a Comment