स्व.वि.यू. एक अनावस्यक तमासामात्र - SUMAN LAMSAL

Breaking

Subscribe Us

BANNER 728X90

Monday, May 26, 2014

स्व.वि.यू. एक अनावस्यक तमासामात्र

          आज भन्दा झन्डै एक वर्ष पहिलाको कुरा हो । प्रत्येक जसो क्याम्पसहरु रंगिन फोटा टाँसीएका पोस्टरहरुले झकिझकाउ थिए । सम्पूर्ण बिद्यार्थी संगठनहरु आफ्नो तागतले भ्याएसम्म चुनाबको प्रचारमा ब्यस्त थिए । क्याम्पसहरुको पठनपाठन स्थगित गरिएको थियो । बिद्यार्थीहरु बिचको आन्तरिक झगडाको कारण अन्तिम समयमा आएर चुनाब स्थगित भएको घोषणा गरियो । यो रंगमंचमा पात्र भन्दा बढी दर्शकहरु प्रभावित भए । घर खेत बन्धक राखेर बुढा बा आमाको एक भारी सपना बोकेर सहर पसेकाहरुको सपना माथि नमिठो प्रहार भयो । झन्डै २ महिना चुनाबी नाटकका कारण पठनपाठन पुरै प्रभावित हुन पुग्यो । न चुनाब भयो न त्यो बेला बिगारेको पढाइको क्षतिपूर्ति को नै वेवास्ता गरियो । बिद्यार्थीहरुको हक हित र सुबिधाको लागि स्थापना गर्ने भनिएको स्वबियु अन्तत बिद्यार्थीहरुको स्वत प्राप्त पठनपाठनको हक पनि खोस्ने कारण बन्न पुग्यो ।
        त्रिभुवन बिश्वबिद्यालयले यसपाली पनि नाटकको दोस्रो संस्करण सार्बजानिक गरेको छ । यसपाली भने पहिला गुमेको विश्वासनियताका कारण प्रभाव अलि कम परेको छ । यसपाली पनि चुनाब नहुने पक्का पक्कि नै भैसकेको छ । अर्को मुख्य पक्कापक्कि त के भएको छ भने यसपाली चुनाब भएन भने यो वर्ष हुन सक्दैन । यो वर्ष पनि चुनाब भएन भने स्वबियू नै खारेज हुने लगभग सम्भावना छ । लेखक यो सम्भावनाको पक्षमा बुँदागत रुपमा केहि तर्कहरु पेश गर्न गईरहेको छ ।
१. बिद्यार्थीको हक हितको पक्षमा स्थापना गरिएको भनिएको स्ववियु यसमा भन्दा बढी राजनैतिक स्वार्थ परिपूर्तीको लागि प्रयोग भईरहेको छ । यसले युवा वर्ग आफ्नो लक्ष्य प्राप्तिको लागि अध्यायनलाइ छाडेर ढुंगा हान्नमा तल्लिन भएका छन् ।
२. स्वबियु बौद्घिक भन्दा बढी लाफ·ा नेताहरु उत्पादन गर्ने भर्ति केन्द्रको रुपमा विकसित हुँदै गईरहेको छ । क्याम्पसमा राजनीति गर्नेहरुको पढाई राम्रो नहुने आम धारणा स्थापित हुदै आइरहेको छ । यसले भोलि देशको केन्द्रिय राजनीतिमा पनि सोझै असर पार्ने निश्चित प्राय छ ।
३. यसले बिद्यार्थी बिद्यार्थी बिचको मेलमिलाप र सहिष्णुतालाई बिगार्ने काम गरिराखेको छ । चुनाबको बेला राजनैतिक इस्युको कारण ज्यान जाने गरि धेरै काटमारका घटनाहरु हुने गरेको पाइन्छ । यतिसम्म देखियो कि गाउँबाट सँगै पढ्न झरेका एउटा बाउ आमाका छोराहरु पनि यहाँ फरक फरक पार्टीमा लगेर एकले अर्कोलाई ढुंगा हानी राखेका थिए ।
४. यसको कारण आम बिध्यार्थीहरुमा स्ववियूबाट राजनीति गरेपछि पढ्नु पर्दैन भन्ने धारणा विकसित हुँदै गएको पाइएको छ । यसले भोलि देश र स्वयम् बिद्यार्थीको भविष्य माथि नै कुठाराघात गर्ने निश्चित प्राय छ ।
५. स्ववियु आर्थिक अनियमितता हुने प्रमुख अखडा बनेको छ । यसले सुरुवात देखिनै युवाहरुलाई खराब संस्कारतर्फ उन्मुख गराउँछ । एउटा सामान्य अध्यायनले देखाए अनुसार स्ववियूमा आउने कुल बजेटको ६० प्रतिशत मात्र बिद्यार्थी हक हितको काममा प्रयोग हुने बाँकी ४० प्रतिशत राजनैतिक र व्यक्तिगत फाइदामा प्रयोग हुने देखाएको छ ।
६. स्ववियू चुनाबका कारण निर्दोष बिद्यार्थीको २÷३ महिना पढाई प्रभावित हुने गरेको छ । यसले दक्ष जनशक्ति उत्पादनमा पनि असर पार्ने देखिन्छ ।
मैले माथि उल्लेख गरेका त मात्र केहि प्रतिनिधिमूलक कारण मात्र हुन् । स्ववियुले असर पार्न सक्ने धेरै अरु गौण कारणहरु पनि छन् ।
       यत्तिका चर्चा गरिसके पछाडी के स्ववियू स्थापना गर्नुको कुनै फाइदा नै छैन त ? भन्ने प्रश्न आउन सक्छ । यसका फाइदाहरु पनि धेरै छन् तर यो जुन उद्देश्यको लागि खोलिएको हो त्यो भन्दा बढी अरुनै उद्देश्यमा प्रयोग हुन्छ । त्यसकारण यसको फाइदा भन्दा पनि बेफाइदा बढी देखिएको छ । स्ववियुको मुख्य फाइदा भनेको यसले बिद्यार्थीको समस्या प्रशासनसम्म पु¥याउने काम गर्छ । तर यहाँ समस्या सुल्झाउनु अगाडी बिद्यार्थी कुन राजनैतिक दलको हो भन्ने हेर्ने गरिन्छ । यसले बिद्यार्थीहरुका बीच मतभेदको सिर्जना गर्छ । स्ववियुले अर्को मुख्य गर्ने काम भनेको बिद्यार्थीमैत्री कार्यक्रम हो तर यसमा पनि धेरै आर्थिक चलखेल भएको उदाहरण सर्बबिदितै छ ।
        अब स्ववियू नै खारेज गरिसके पछाडी बिद्यार्थीको गुनासो सुन्ने चाँही कसले भन्ने कुरा उठ्न सक्छ जुन स्वाभाविक पनि हो । यसको लागि क्याम्पसको मातहतमा रहने गरि बिद्यार्थी कल्याणकारी कोष खोल्न सकिन्छ । जसको गठन प्रक्रिया राजनैतिक भन्दा पनि शैक्षिक स्तरको आधारमा गर्ने व्यवस्था गर्नु पर्छ । कोषमा सदस्य रहन कम्तिमा सम्बन्धित विषय प्रथम श्रेणीमा उत्तिर्ण भएको बिद्यार्थी चाहिने व्यवस्था गरियो भने अध्ययनको संस्कारको बिकास हुने थियो । अर्को मुख्य कुरा त राम्रो स्तरको बिद्यार्थीको सोचको स्तर पनि राम्रो हुन्छ यसले गर्दा धेरै समस्याहरु स्वत समाधान हुने गर्दछन् । बिद्यार्थीको शैक्षिक स्तर अनुसार कोषका पदहरुमा राख्ने व्यवस्था बनाइयो भने यसले प्रतिस्पर्धालाई राजनैतिक भन्दा बढी शैक्षिक बनाउँछ । जसले गर्दा हत्या हिँसा स्वत रुपमा घटेर जान्छ । एउटा असल संस्कारको बिकास हुन्छ ।
         अन्तमा ः राजनीति भनेको कुनै बच्चाको खेल होइन । यसलाई नबुझीकन क्याम्पस पढ्ने बेलामै प्रयोग गर्न खोज्नु केवल मुर्खता मात्र हो । राजनीति त अध्ययनले खारिए पछी सिद्घान्तको विश्लेषण गरेर गरिने कुरा हो । हाम्रोमा बिद्यार्थीहरु राजनैतिक रुपमा प्रयोग हुने एउटा संस्कार छ । जसको मुख्य कारण स्ववियू नै हो । यसको संरचनालाई परिवर्तन गरेर राजनैतिक प्रतिस्पर्धाबाट शैक्षिक प्रतिस्पर्धामा परिवर्तन गर्न सकियो भने समग्र युवाहरुको गुणस्तरमा बृद्घि गर्न सकिन्थ्यो कि भन्ने मेरो अनुमान हो ।


२०७१ जेठ १० गतेको पोखरा हटलाइन राष्ट्रिय दैनिकमा प्रकाशित

No comments:

Post a Comment