Skip to main content

म निलम्बित भएको विश्वकप

म सानोमा फूटबल भनेपछि हुरुक्कै हुने । गाउँमा कत्तिक मंसिरमा धान काटीसकेपछी अधिकांश खेतका गराहरुखाली हुन्थे । अरुबेला मैदानको अभाबले गर्दा फूटबल अलिक सुस्ताउथ्यो भने  यतिबेला चाँहि सबै जनालाई फूटबलको नशा नै चड्ने गर्थ्यो । सबै उमेर समुहका आफ्ना आफ्नै झुण्ड हुन्थे । हाम्रै उमेरको पनि २/३ वटा झुण्ड थियो । त्यो मध्यको हाम्रो एक थियो । हाम्रो ग्रुपमा कमल र म फूटबलमा अलि जान्ने मध्यकै गनिन्थेउ । हामीलाई कहिलेकाही ठुला दाइहरुको टिम नपुग्दा किप्पर राख्न पनि लैजान्थे । किप्पर भन्दा बढी चाँही पाइदैन थ्यो । किपर नै बस्दा पनि घरि घरि ब्लाडर हालेको बल छुन पाइने हुदा हामि खुब खुसि हुन्थ्येउ । भुरा भुरिकै ग्रुपमा पनि हाम्रो ग्रुप अलि तगडा खालको थियो । अरु साथीहरु पलास्टिकको बल खेल्दा हामि मोजाको बल खेल्थेउ । बल बनाउने जिम्मा बोधुको हुन्थ्यो । उ सानै देखिको अलि अक्कले स्वभावको थियो । उ मामा घर जाँदा पनि खेर जान आँटेको  मोजा देख्यो भने लिएर आउथ्यो र जोडजाड गरेर बल बनाइ हाल्थ्यो ।   
         कक्षा ४ मा पढ्ने बेलाको कुरा हो । मङ्सिर महिनाको दिन थियो । छिटै रात पर्थ्यो । हामि संधै झैँ फूटबल खेलिराखेका थियौं । हार्नेको टिमले भोलिपल्ट जित्ने टिमलाइ एक एक प्लेट चना खुवाउनु पर्ने सर्त थियो । रात पर्न लागि सक्दा पनि कसैको गोल भएको थिएन । बल मैले चलाइरहेको थिएँ । एक्कासी कमल चिच्यायो नङ सुट हान् । मैले खुब जोड सँगले बल उडाएँ । बल त खोलामा पुग्यो । हामि बल लिन खोलामा पुग्ने बेला सम्म त बल बगाइसकेको रहेछ । साथीहरु मसँग खुब रिसाए । सबै भन्दा बढी त बोधु रिसायो । उसले मामा देखि हजुरबा सम्मको मोजा हालेर बल बनाएको रहेछ । उसले भोलि पल्ट आउदा मैले नयाँ बल बनाएर ल्याउनुपर्ने कुरा उठायो । साथीहरु सबैले हो मा हो मिलाए । अब मलाई ठुलो समस्या पर्याे । एक त हाम्रो घरमा जुत्ता लगाउने बुवा मात्र हुनुहुन्थ्यो । अर्काे कुरा बुवाको च्यातिएको चाँहि मोजा अस्तिनै घरमा मह झिक्दा झुम्रो बनाइसकेको थियो । मैले बोधुलाई फकाएर बल बनाइदिय १० रुपियाँ सम्म दिने सर्त राखे । उसले मरिगए मानेन । साथीहरुको अगाडी केहि सिप नलागेपछि लुत्रुक्क पर्दै घर तिर लागेँ । 
       त्यो बेलुकी राम्रो संग खान मन पनि लागेन । राति सबैजना सुतिसकेपछि बुवाको जुत्ता राख्ने ठाँउमा पुगेर एकपटक हेरेँ । सेता एक जोर मोजा जुत्ता भित्रै थिए अरु मोजाको टुक्रा सम्म थिएन । मनमा अनेक कुरा खेले । एक मनले सोच्यो ह्या बल सल खेल्न जादिन । के मान्थ्यो र अर्काे मन । अर्काे मनले भन्यो यहि मोजा झिक र भोलि मुसा ले लागेको हुन सक्ने कुरा उठा । त्यहि मनले जित्यो । भोलि पल्ट बिहान सबै जना उठिसक्ने हुनाले मोजा अहिले नै लुकाउनु पर्ने थियो । खुसुक्क मोजा झिकेर झोलामा लगेर राखेँ र सुत्न गएँ । भोलि पल्ट एक्कसी बुवाको स्वर कानमा पर्दा ब्युझियँ । “सुमन ! तैले देखिनस् बाबु मेरो मोजा कहाँ परेछ ? ममीले पनि देखिन भन्छे ।” बुवा ले कोठाको चारै तिर आँखा लगाउदै भन्नु भयो । मैले आँखा मिच्दै निकै जान्ने झैँ गरेर भनेँ “बुवा मुसाले लग्यो होला अस्ति माथि भकारीमा लगेर के के थुपारेको थियो त्यहि पो लग्यो कि ?” बुवाले फकाउने पारामा भानु भयो “जा त बाबु हेरेर आइज ” म जा भन्ने आवाज सुन्न साथ कुदी हालें भकारी तिर, तर भकारी सम्म पुगिन आँटीको लिस्नाबाटै छैन रैछ भन्दै फर्किएँ । अब चप्पल लगाएर जानु पर्याे भन्दै बुवा निस्कनु भयो । मलाइ राहात महसुस भयो । 
      त्यो दिन स्कुलमा कमलको र मेरो दिनभरिको काम नै बल बनाउने भयो । सेरोफेरो को कक्षा नै हापियो । उसकोमा गएर कागज र डोरी ल्याइयो अनि मैले लगेको दुइ वटा मोजा हालेर बल बनाइयो । मोजा नयाँ भएकाले बोधुले बनाउने भन्दा धेरै राम्रो पनि भयो । बललाई स्कुल नाकिकै झाडीमा लुकाएर राखियो र हामीहरु घर तिर लागियो । घरमा पुग्दा ममीले माथि भकारी तिर मोजा खोज्दै हुनुन्थ्यो । मैले पनि सम्भावित ठाउँ देखाउदै एकछिन खोजे जस्तो गरें । एकैछिनमा खाजा खाइ वरी केटो हाजिर भयो आफ्नै क्याराभानमा । 
       कमल बल लिएर आइसकेको थियो । अरु साथीहरु आउने क्रम थियो । साथीहरुले बलको ठुलो प्रसंसा गरे । कतिले त बोधुको बल खेल्न पनि घिन लाग्थ्यो सुमन को बल त नयाँ जस्तै रैछ सम्म भने । बोधु अलि निन्याउरो भयो । हिजो बल हराएर रोकिएको खेल आज पुन सुरु हुने भयो । बिचमा तिन पटक बल उफारेर खेल सुरु भयो । उफ्रिन त मोजाको बल के उफ्रिन्थ्यो र त्यहि पनि दाइहरुले बाँधेको बिरालो हामीले पनि बाँधियो । खेल हामीले जित्यौं मैले १ गोल हानेँ र कमल ले १ थप्यो । उनीहरुको तिर बाट विनोदले १ गोल हान्यो । जामा जम्मी २–१ को नतिजा निस्कियो । हामि चनाको स्वाद सम्झिएर मुख मिठ्याउदै आफ्नो आफ्नो घर तिर लगेउ । 
        घरको आँगनमा टेक्न नपाउदै बुवाले भन्नुभयो “बाबु मोजा त मुसाले नै लागेको रैछ नि मुसो पनि भेटियो मोजा पनि भेटियो ।” म अचम्म परें । नबुझे जस्तो गरेर सोधें, “खोइ त बुवा मुसो ?” बुवाले मेरो कमिजको पछाडी समात्दै भन्नु भयो “यी यै हो मुसो ।” म छाँगाबाट खसेजस्तो भएँ, दिमागले काम गर्न छाड्यो । म तिर ठुलो आँखा ले हेर्दै बुवाले भन्नु भो “अस्ति किनेको नयाँ मोजा चोरेर लगेर बल बनाउने, अझ मुसाले लग्यो होइन ? धन्न कान्छीले देखेकी रैछ र भनि, अझ कक्षा पनि हाप्ने हैन ?” बुवा गालि गर्दै हुनुहुन्थ्यो म नबोली लुसुक्क माथि गएर बसें । खास कुरो के भएछ भने हामी कमलकोमा गएको बेला  बैनीले कलम खोज्न मेरो झोला हेरिछ । हामीले ढलनमा गएर बल बनाउदा पनि लुकेर हेरेकी रे अनि घर आएर सब कुरा उसले नै लगाएकी रहिछ ।                
       त्यस दिन देखि मलाइ बुवाले बल खेल्न जान दिनु भएन । म खेलबाट एक महिनाको लागि निलम्बित भएँ । साथीहरुले किन खेल्न नआएको भन्दा कहिले बिरामी छु भनेर टारें त कैले पढ्नु छ भनेर टारें । १०/१५ दिन पछाडी त गहुँ छर्नको लागि खेतहरु पनि जोतिन थाले । साथीहरु पनि खेल्न जान छाडे । त्यो सिजनको फुटबल मेरो लागि पुरा नखेल्दै टुंगियो । 
      यतिबेला मौसम विश्वकप फूटबलको छ । सुर मुनि देखि भुसुना सम्म सबैजना त्यसैको ज्वरोले तातेका छन् । त्यो बेला विश्वकप हेर्न त के भए नभएको पनि पत्तो हुदैन थ्यो । त्यहि धानका ठोसा माथि मोजाको बलले खेल्ने खेल नै  हाम्रो लागि विश्वकप हुन्थ्यो । अहिले हेरेर रमाएको भन्दा हजारौ बढी गुणा हामि खेलेर रमाउने गर्थेउ । मलाइ आज पनि ब्राजिलमा भएको विश्वकप भन्दा १० वर्ष अगाडी खेतको गरामा भएको हाम्रो विश्वकप प्रिय लाग्छ । जून विश्वकपमा म बिचमै निकालिएको थिएँ ।                                          

२०७१ असार २८ मा पोखरा हटलाइन राष्ट्रिय दैनिकमा प्रकाशित 

Comments

Post a Comment

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

फूटपाथको सामान जस्तो नेपाली गजल

        छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु ।            केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो    “उजाले आप्नी ...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...