एउटा कोहीनूर हराएको दिन - SUMAN LAMSAL

Breaking

Subscribe Us

BANNER 728X90

Friday, August 15, 2014

एउटा कोहीनूर हराएको दिन

   
जीवन समयको प्रयोगशाला हो । हामीहरू त्यही प्रयोगशालाको ट्यस्टट्युबमा राखिएको केमिकल जस्तै छौं । ईश्वर एउटा बैज्ञानिक, जो हामी माथि निरन्तर प्रयोग गरिरहन्छ । हामीमा कहिले दुखको सल्फरडाइ अक्साइड मिसाइन्छ त कहिले सित्तलो हुने डाइहाइड्रो अक्साइड मिसाइन्छ । केही सिसिहरूमाथि उसको अस्तित्वको अन्तिम समयसम्म पनि प्रयोग भैरहन्छ त केही सिसिहरू थाहै हुदैन कतिबेला ईश्वरको हातबाट खसेर प्याट्ट फुटिजान्छन । हाम्रोमा एउटा मान्यता छ सबैभन्दा बढी सुन्दर र सक्षम सिसिहरू समय नपुग्दै फुटेर गइदिन्छन । खासमा त्यस्तो चाँहि हुदैन तर हाम्रो मान्यता पनि गलत छैन किनकि हामीहरू आफूलाई राम्रो लागेको चिज यदि आफूबाट छुट्टियो भने त्यसको अलिक ठुलो अभाव महसुस गर्दछौ । हामीलाई आफूले मन नपराएका कुराहरू हराउनुले त्यति बिघ्न असर पर्दैन । यो मानवीय प्रवृति हो । आजको दिन समयको प्रयोगशालाबाट एउटा उज्यालो सिसा फुटी गएको दिन हो । खोइ ईश्वरले समाउन नजानेर हो या सिसानै कम्जोर भएर हो भुइमा झरिकन एउटा ठुलो छाप बनाएर सिसा भित्रको रसायन उडी गएको छ सपनाको देशमा । अब कहिल्यै नफर्कने गरेर । केवल हामीसँग फुटेका टुक्राहरू मात्र बँचेका छन् ।  
  पथ्थर दाइले ट्वीटरको टाइमलाइन स्क्रोल गर्दै फ्याट भन्नु भो भाइ श्रीकृष्ण त मरेछन् नि। मेरो मस्तिष्कले कानमाथि शंका गर्यो, आँखाहरू बन्द भैराखेका छन् जस्तो लाग्यो । मैले मनमनै प्रार्थाना गरें यो सब एउटा सपना बनिदियोस् । म हस्यांग फस्यांग गर्दै उठ्न पाउँ र पानी खाएर भन्न पाउँ कस्तो नराम्रो सपना देखियो । तर वास्तविकतालाई हाम्रो चाहना अनुसार किन बदल्न सकिन्थ्यो र ?  सत्य जे थियो त्यो नै वास्तविकतामा परिणत भैदियो । तैपनि दाइको विश्वास नलागेर म आफूले नै एकपटक अनलाइन न्युज साइटहरू खोलेर हेरें धेरैको माथि टाकुरामै लेखिएको थियो अलबिदा श्रीकृष्ण। अब चाँहि बाध्य भएर मैले आँखाहरू माथि विश्वास गर्नु पर्ने भयो । श्रीकृष्णका आजसम्म मैले हेरेका चलचित्रहरू दिमागमा क्रमैसँग एकपटक नाचे । बिस्तारै मैले उस्लाई भन्दा बढी १ महिना अगाडी मात्र उसँग विवाह बन्धनमा बाँधिएकी उसकी श्रीमती श्वेतालाई सम्झिए । केही महिना अगाडि मैले इमेज च्यानलमा विजय लामासँग उनीहरूको अन्तर्वार्ता हेरेको थिएँ । उनीहरू दुवैको सम्बन्ध प्रतिको कन्फिडेन्स देखेर म धेरै लोभिएको पनि थिए । लागेको थियो, यो जोडी कहिल्यै नछुट्टीयोस । अक्सर हाम्रो जीवनको प्रकृयामा लागेको कुरा हुदैन यही सिद्दान्तको निरन्तरता आज भयो । मेरो दिमागको बटन एकाएक पुराना दिनहरू संकलन गरिएको मेमोरी तर्फ इंकित हुदै गयो । जहाँ सबैभन्दा पहिला त श्री जिउदा थिए, उनी एउटा नायक थिए, त्योभन्दा पनि बढी मनपर्ने नायक थिए । मैले उम्केको माछो ठुलो भन्ने हिसाबले उनलाई यतिबेला मेरो बेस्ट हुन् भन्न खोजेको होइन । उनी मेरो बचपनको एक आइडियल पर्सन हुन् । उनको नामसँग जोडिएका मेरो बचपनका थुप्रै कहानीहरू पनि छन् । यति बेला तिनै कहानीहरू मेरो दिमागमा घुमिरहेका छन् ।
   सायद कक्षा ६ ितर पढ्ने बेला होला । रेडियो नेपालमा सारांश भन्ने कार्यक्रम आउथ्यो । बेलुकाको साढे चार बजे । मैले धेरै जसो भित्ते घडीमा आल्राम लगाएर त्यो कार्यक्रम सुन्ने गर्थें । आधा घन्टाको त्यो कार्यक्रममा एउटा सम्पूर्ण फिल्मको कहानी सुनाइन्थ्यो । बीच बिचमा फिल्मका मुख्य मुख्य सम्वाद पनि सुनाइने गर्थ्यो । जसको कारण हामी फिल्मको हिरोलाई देख्नै नपाए पनि उसको आवाजलाई भने राम्ररी नै महसुस गर्न सक्थेउँ । कार्यक्रमकै निरन्तरताको क्रममा हिउदे दिनको एक दिन सुखदुखकोपालो परेको थियो । कार्यक्रम प्रश्तोताले कलाकारको नाममा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य....यस्तै यस्तै अरु केही नाम लिए । महको नाम बाहेक अरु नाम मैले नचिनेकोले पनि खासै याद गरिन । जब फिल्मको कथा अगाडि बढ्दै गयो मलाई त्यो नाति पात्रले खुब मन जित्यो । बाबु आमाले हेला गरे पनि नातिले हजुरबा हजुरआमालाई गरेको प्रेम देखेर म धेरै प्रभावित भएँ । मैले आफूलाई त्यो नाति पात्र सम्झन थालें । यो कथा मेरो घर परिवारसँग पनि केही हदसम्म मिल्थ्यो । मेरा बा आमाले हेला नै त गर्नुहुन्नथ्यो तर हजुरबा हजुरआमालाई उहाहरूभन्दा मैले धेरै माया गर्छु भन्ने सधै मेरो मनको दाबि रहन्थ्यो । जब फिल्मको कथा सक्कियो मलाई एउटा कुराले खुब पिरोली राख्यो अब मैले त्यो नाति पात्रको नाम जान्नु थियो । गाउमा म जस्तै सारांश सुन्ने अरु साथीहरू पनि थिए । म सिधै विनोदको घरतिर लागें । उसले त त्यो नाति पात्रलाई पहिले देखि नै चिन्दो रहेछ । उसले भन्यो त्यो त श्रीकृष्ण श्रेष्ठ हो । यसरी मेरो दिमागको मेमोरीमा श्रीकृष्ण श्रेष्ठ भन्ने नाम लोड भएको हो ।
    गाँउमा बिजुलीका तारहरू माकुराको जालो जसरी तल्र्याङ र तुर्लुङ झुण्डीय पनि अझै बिजुली भने पुगेको थिएन । बिक्रम बाका छोराहरू जेनेरेटरबाट फिल्म देखाउथे । रेट भन्ने ज्यादै महँगो लगाउथे । एउटा फिल्म हेरेको २० रुपियाँ थियो । सायद यति चर्को टिकट त त्यो बेला फिल्म हलमा पनि थिएन होला । हामी कहिलेकाँही झ्यालको चरबाट उनीहरूको फिल्म फ्रिमा हेरिदिन्थेउ । तर त्यो फिल्म साथीहरूसँग अलि अलि गफ लडाउनभन्दा बढी अन्त काम लाग्दैनथ्यो । मलाई भित्र पसेर फिल्म हेर्नको लागि दुइवटा समस्या थियो । एउटा त गोजीमा एकैपटक २० रुपियाँ हुदैनथ्यो । अर्को कुरा ३ घण्टासम्म ममिको आँखा छलेर फिल्म हेर्ने भन्ने कुरा असम्भब जस्तै हुन्थ्यो । तर एक दिन दुई वटै समस्याले हावा खायो । तीजको बेला थियो । माइला बालाई पसलबाट औषधी बेचेर मैले ५० रुपियाँ कमाएको थिएँ । ममी मामाघर जानु भएको मौका थियो । कमलसँग पनि २० रुपिया रहेछ अब हामी २ जना बिक्रम बाकोमा फिल्म हेर्न जाने भयौं । मैले सानै देखि बुवालाई आँशुले जित्दै आएँ त्यो दिन पनि त्यही भयो । घर प्रकृया पुर्याएर आउदा अलिक समय लाग्यो । फिल्म त सुरु भैसकेको रहेछ हामी हतार हतार गर्दै भित्र पस्यौं । मलाई जहिले पनि फिल्म हेर्दा हिरो नाचिनेसम्म फिल्मको मज्जा नै लाग्दैनथ्यो । गाउमा अलि धेरै फिल्म हेरी टोपल्ने बिशाल नजिकै थियो मैले उसलाई हिरोको नाम खुसुक्क सोधें । उसले भन्यो राजेश हमालको भाइ हो । नाम कल्पना गरें, दिनेश हमाल होला राजेशको भाइ भनेपछि । गाउमा पनि राजेशको भाइ दिनेश नै थियो । फिल्म गज्जबको थियो । गज्जबले सकियो पनि । बाहिर आएपछि मैले सागरसँग फिल्मको नाम सोधेँ उसले भन्यो ए मेरो हजुर ।”  “अनि त्यो राजेश हमालको भाइको नाम के रैछ नि ?” मैले पोस्टरतिर देखाउदै थपें । कहाँ राजेश हमालको भाइ हुनु त्यो त श्रीकृष्ण श्रेष्ठ हो । मलाई एकदमै ग्लानिको महसुस भयो । यदि कोही मलाई फेरि त्यो फिल्म देखाइदिन्थ्यो भने म गोजीमा बाँकी भएको तिसै रुपियाँ उसलाई दिइदीन्थे । मैले जोसँग आफ्नो नाम जोडेको थिएँ, उसैलाई आफनै अगाडि भएर पनि चिन्न नसक्दा थक्क थक्क भयो । अब फेरि पनि चिन्दिन कि भन्ने डरले मैले १० रुपियाँको १० वटा श्रीकृष्ण मात्र भएको पोस्टर ल्याएर घरमा टाँसे । त्यसको केही समय पछि बिक्रम बाकोमा हामी तीन भाइचल्यो । पोस्टरमा श्रीकृष्ण देखेपछि मैले सामाजिक र जनसंख्याको क्लास नै हापेर त्यो फिल्म हेरें । फिल्मभन्दा बढी मैले त्यो नातिलाई हेरें अर्थात् श्रीकृष्णलाई हेरें । फिल्म सक्किए पछि, मैले आफूलाई श्रीकृष्ण भन्न भनेर केही साथीहरूलाई चकलेट पनि बाँडे । त्यो दिन देखि साथीहरू श्रीकृष्ण भन्न थाले । त्यसको दुई दिन पछाडि गोरु चराउन जाँदा कमलले फिल्मको सिन सम्झाउदै भन्यो यदि तँ साँचैको श्रीकृष्ण भए यो रुखबाट हाम फालेर देखा । अरुले पनि होमा हो मिलाए । त्यो बेलासम्म म भित्र श्रीको यस्तो भुत बसिसकेको थियो नि म ऊ जस्तो बन्नको लागि जुन सुकै काम पनि गर्न पछाडि नहट्ने भएको थिएँ । हाम फालेको १५ दिनसम्म खुट्टा मर्कियर कतै हिड्न नसक्ने भएँ । खोइ कुन चाँहिले कुरा लगाइदिएछ ममीको खुब गाली पनि खाइयो । बुवाले भने त्यही बेला सम्झाउनु भएको थियो रिल लाइफ र रियल लाइफ को फरक । त्यो पछि भने त्यस्तो मुर्ख कहिल्यै बनिन ।
    यसरी मेरो बच्चा बेलाबाटै मैले आदर्श मान्दै आएको एक नायकको आज अबशान भएको छ । फेरि मस्तिष्क अहिलेकै मेमोरी भएको डिब्बामा फर्कियो । श्रीकृष्ण बास्तवमा त्यति बिघ्न हिट पनि भएनन् र त्यति धेरै फल्प पनि भएनन् । मुलधारको फिल्म खेलेर पनि आफ्नो करियरको ग्राफलाई धेरै उतारचडाबमा नपुर्याएका एक सफल नयक चाँहि उनी हुन नै । मलाई पहिल्यैबाट श्री मन पर्नुको कारण उनले हरेक चलचित्रमा आफ्नो भूमिकालाई गरेको न्याय नै प्रमुख हो ।
     पथ्थर दाइ र म चिया खाएर छुट्टिएउ । म समाचार र कारणहरू बारे थप जानकारी लिन पत्रिकाको कार्यालय पुगें । कार्यालयमा अमृत दाइ पनि झोक्राएर न्युज साइटहरू स्क्रोल गर्दै हुनुहुन्थ्यो । दाइले भावुक हुदै भन्नुभयो भाइ बिचराले कोहीनुर पनि दर्शकसँग बसेर हेर्न पाएनन ।म कोहीनुर कहिलेबाट रिलिज भयो भन्ने कुरामा कन्फ्युज थीयँ । दाइसँग मिति कन्फर्म गरेपछि हामी कोहीनुर हेर्न जाने निधो गर्यौ । मैले जीवनमा पहिलो पल्ट तल्लो तलामा त्यो पनि अगाडिको बेन्चमा बसेर फिल्म हेरें । एकापट्टी हेर्यो अर्को पट्टिको भागमा फिल्म छुट्थ्यो । मलाई फिल्म भरिमा दुई वटा ठाँउमा नराम्रोसँग छोयो । एक ठाउमा श्वेता भन्छिन आमा तपाँई त कमसेकम यत्रो समयसँगै बस्नुभयो मैले त ३० दिन मात्रसँगै बसेर मेरो प्रेम गुमाए । अर्को ठाँउमा श्री भन्छन आमा मलाई यो बेलामा मर्न मन छैन ।समग्रमा फिल्म मुलधारको उत्कृस्ट बनेको रहेछ । गहभरी आँसु बोकेर हामी दुवै जना बाहिरियौं । बाहिर श्रीको ठुलो तस्वीर राखेर भावपूर्ण श्रदान्जली लेखिएको थियो । अघिसम्म जसो तसो रोकिएको आँखाको डिल यहाँसम्म आइपुग्दा धेरैको भत्कियो ।
 मेरो लागि यो एउटा कालो दिन थियो । जुन दिन नेपाली चलचित्रको एउटा कोहीनुर हराएको थियो ।


२०७१ साउन ३१ गतेको "पोखरा हटलाइन" राष्ट्रिय दैनिकमा प्रकाशित 

No comments:

Post a Comment